Logo
Logo

चिनियाँ सेनालाई ‘द ग्रेट वाल अफ स्टिल’ बनाउने सी जिनपिङको घोषणा



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ सेनालाई देशको सेनालाई ‘ग्रेट वाल अफ स्टिल’मा परिणत गर्ने घोषणा गरेका छन् ।

चिनियाँ सेनालाई बलियो बनाउने आफ्नो इच्छा व्यक्त गर्दै सीले जनतालाई आफ्नो सरकारलाई समर्थन गर्न अपिल गरेका छन् ।
‘मैले तेस्रो पटक यस्तो उच्च राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दैछु । जनताको विश्वास नै मेरो लागि सबैभन्दा ठुलो प्रेरणा हो’, ६९ वर्षीय जिनपिङले चिनियाँ संसद्मा भने, ‘यही कुराले मलाई अगाडि बढ्न प्रेरित गर्छ । तर यसले मेरो काँधमा ठुलो जिम्मेवारी पनि राख्छ ।’

संविधानमा उल्लेखित जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिनपिङले चीनका जनताले आफूमाथि गरेको विश्वासलाई कहिल्यै डगमगाउन नदिने बताए ।

जिनपिङले भने- ‘विकासको आधार सुरक्षा हो, स्थायित्व भए मात्र समृद्धि आउँछ । ’ उनले चिनियाँ सेनाको आधुनिकीकरणको कामलाई अगाडि बढाउन आग्रह गर्दै उनले यसलाई ‘ग्रेट वाल अफ स्टिल’ बनाउनुपर्ने बताए ।

‘यो एउटा यस्तो सेना हुनेछ जसले आफ्नो देशको सम्प्रभुता, सुरक्षा र विकाससँग जोडिएको हितलाई पूर्ण तत्परताका साथ रक्षा गर्नेछ’, उनले भने ।

चिनियाँ सेनालाई ‘ग्रेट वाल अफ स्टिल’ बनाउने जिनपिङको भनाइका कारण चीनको पर्खालको चर्चा चर्किएको छ । चीनका सम्राट्हरूले देशलाई बाह्य आक्रमणबाट बचाउन २० हजार किलोमिटरभन्दा लामो पर्खाल बनाएका थिए । यो पर्खाल बन्न धेरै शताब्दी लागेको थियो ।

चिनियाँ सेनालाई बलियो बनाउने सम्बन्धमा जिनपिङको यो भनाइ यस्तो बेला आएको हो, जब अमेरिका र केही छिमेकी देशसँगको तनाव बढ्दै गएको छ । चीनमा जिनपिङलाई पार्टीको सबैभन्दा प्रमुख नेता मानिन्छ । जसरी चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङलाई कुनै समय मानिन्थ्यो ।

गत हप्ता चीनको संसद्ले उनको तेस्रो कार्यकाल राष्ट्रपतिको रूपमा अनुमोदन गरेको थियो । योसँगै केन्द्रीय सैनिक समितिको प्रमुखमा पनि उनको नाम अनुमोदन भएको हो ।

केन्द्रीय सैन्य समितिका प्रमुख चिनियाँ सेनाको सर्वोच्च कमान्डर हुन्छ । यो उनको राष्ट्रपति र चिनियाँ सेनाको सर्वोच्च कमान्डरको रूपमा अर्को पाँच वर्षको कार्यकालको सुरुवात हो । बीबीसी

प्रतिक्रिया दिनुहोस्