काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार दिउँसो एक बजेको लागि बैठक बोलाएको जानकारी दिए ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ’, विज्ञप्तिमा भनिएको छ- ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
बैठकमा उपराष्ट्रपतिको निर्वाचन केन्द्रित हुने बताइएको छ । चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।
गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको छ । कांग्रेसको बैठकमा सरकार पुनर्गठन र मन्त्रीको विषयमा छलफल हुने बुझिएको छ ।











