Logo
Logo

हार्ने अवस्थामा जनजाति महिला एमालेबाट उम्मेदवार


2k
Shares

काठमाडौैं । नेकपा (एमाले)ले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पुरुषलाई बनाएर हार्ने निश्चित भएको उपराष्ट्रपति पदमा भने महिला उम्मेदवारलाई अघि सारेको छ ।

एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपनेतामा सुवास नेम्वाङ, प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला चयन भएका छन् । हार्ने निश्चित भएको उपराष्ट्रपतिमा भने ओलीले अष्टलक्ष्मी शाक्यलाई अघि सारेका छन् ।

राष्ट्रपतिमा आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल निर्वाचित भएर कार्यभार सम्हालिसकेका छन् । आठ दलका साझा उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेर निर्वाचत भएका थिए । पौडेलका प्रतिष्पर्धी सुवास नेम्वाङले आधाभन्दा कम अर्थात १५ हजार ५१८ मत पाएका थिए ।

उपराष्ट्रपति निर्वाचनमा पनि एमालेको मतभारमा सुधार नआउने निश्चित भएको छ । राष्ट्रपति निर्वाचनमा एक्लिएको एमाले उपराष्ट्रपति निर्वाचनमा पनि एक्लै छ । राप्रपा र रास्वपाले पनि एमालेको साथ छाडिसकेका छन् । रास्वपा आठदलीय गठबन्धनतर्फ नजिकिएको छ भने राप्रपाले उपराष्ट्रपतिमा पनि मतदान नगर्ने भएको छ ।

त्यसकारण उपराष्ट्रपतिमा पनि गठबन्धनबाटै जसपाका रामसहायप्रसाद यादव निर्वाचित हुने निश्चित देखिएको छ । सत्तारुढ गठबन्धनबाट जनमत पार्टीले ममता झालाई अघि सारे पनि उनीको पक्षमा न्यून मतभार मात्रै छ ।

झालाई जनमतसहित लोसपा र नागरिक उन्मुक्ति पार्टीले मात्रै समर्थन गरेका छन् । उक्त उम्मेदवारी उपस्थितिका लागि मात्रै भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

उपराष्ट्रपति निर्वाचित हुन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) वा जसपाको सांसदको मत मात्रै भए पनि पुग्छ । यादवको पक्षमा अन्य दलका सांसदहरू समेत खुलेका छन् ।

कांग्रेसको मतभार १६ हजार १४२, एमालेको १५ हजार २३३, माओवादी केन्द्रको ७ हजार ६४९ र एकीकृत समाजवादीको २ हजार ५७४ मतभार रहेको छ । यस्तै, राप्रपाको २ हजार ४५०, जसपाको २ हजार १४५, रास्वपाको १ हजार ५०१, जनमत पार्टीको १ हजार २४२, लोसपाको ९७१, नागरिक उन्मुक्तिको ८१३, नेमकिपाको २२३, जनमोर्चाको २०६, हाम्रो नेपाली पार्टीको ९६ र संघीय समाजवादी तथा नेपाल समाजवादीको ४८–४८ मतभार रहेको छ । यस्तै, संघ तथा प्रदेशका स्वतन्त्र सांसदको १ हजार ५० र राष्ट्रपतिबाट मनोनित सांसदको २३७ मतभार रहेको छ ।

एमालेले हार्ने निश्चित भएपछि राष्ट्रपतिमा जनजाति नेता सुवास नेम्वाङलाई अघि सारेको थियो । सातदलीय गठबन्धन कायम रहेका बेला ओलीले राष्ट्रपतिमा ईश्वर पोखरेल, विष्णु रिमाल, गुरु बराल, डोरमणि पौडेलमध्येबाट उम्मेदवार उठाउने तयारी गरेका थिए । तर, जब, राष्ट्रपति आफ्नो पोल्टाबाट बाहिर जाने स्थिति बन्यो तब, ओलीले उम्मेदवार त बनाएकै हो भन्नका लागि नेम्वाङ र शाक्यलाई मैदानमा उतारेका हुन् ।

यसले ओलीको कोटरीमा बलियो विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्ने लोकप्रिय, इमान्दार नेता छैनन् भन्ने दृष्टान्त पनि देखाएको छ । जित निश्चित भएको सभामुखमा ओलीले देवराज घिमिरेलाई उम्मेदवार बनाएका थिए ।

जबकि, सभामुखमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्माहरूले तीब्र लविङ गरेका थिए । सभामुख निर्वाचनकै बेला सातदलीय गठबन्धन भत्किएको भए गुरुङ, विश्वकर्माहरू नै उम्मेदवार बन्ने थिए ।

प्रतिक्रिया दिनुहोस्