काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । यसअघि राष्ट्रपति निर्वाचनमा पनि राप्रपा तथस्ट बसेको थियो ।

यस्तै, राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता मोहन श्रेष्ठले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने पार्टीको निर्णय भएको जानकारी दिए ।
साथै, बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने सरकारी निर्णयको विरोध जनाएको छ । राप्रपाले रासायनिक मलमा सरकारले गरेको मूल्यवृद्धिलाई अदुरदर्शी, अमानवीय र अनुचित रहेको ठहर छ ।
राप्रापले विज्ञप्तिमा भनेको छ, ‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ ।’
रासायनिक मल सम्बन्धमा पार्टीका ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना तथा सभा गर्ने पार्टीले निर्णय गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।











