Logo
Logo

राष्ट्रपतिले आम नागरिकको विश्वास जित्लान् ?


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका छन् । उनको कार्यकाल कस्तो होला अहिले नै अनुमान गर्न गाह्रो छ । जीवनमा एकपटक प्रधानमन्त्री बन्ने सपना देखेका पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै सक्रिय राजनीतिबाट बिदा भएका छन् ।

बीपी कोइरालाका पुस्ता पौडेल सादा जीवन उच्च विचारका धनी मानिन्छन् । तर, उनमा मानवीय त्रृटी र पारिवारिक मोह विगतमा नदेखिएको होइन । त्यो कुरालाई उनले सच्याउनुपर्छ ।

नेपाली कांग्रेसभित्र ‘लोभी बाहुन’को संज्ञा पाएका उनले विगतका कमिकमजोरीलाई सच्याएर अगाडि बढे भने राष्ट्रपति पदको समेत गरिमा बढ्ने छ । विगतका दुई जना राष्ट्रपतिबाट भएको गल्ती र कमजोरीका कारण राष्ट्रपति पद विवादको घेरामा पर्दै आएको छ ।

संविधानको संरक्षकको हैसियतमा पनि राष्ट्रपतिबाट कुनै गल्ती, कमजोरी गर्ने छुट कसैलाई छैन । दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सकेनन् भने पौडेलको कार्यकाल पनि विवादमुक्त हुने छैन । पटकपटक राष्ट्रपति विवादमा आउनु राम्रो होइन । यसले लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाउँछ । त्यसैले पौडेलबाट आमजनताको अपेक्षा भनेको लोकतन्त्रको रक्षा र संविधानको पालना नै हो ।

लोकतान्त्रिक गणतन्त्र हाम्रो लागि नयाँ शासन व्यवस्था हो । हामी नेपाली जनता डेढ दशकदेखि यही व्यवस्थाको अभ्यासमा छौँ । विभिन्न राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरूलाई संविधानमा समेटेका छौँ । तर, संविधानमा उल्लेखित मौलिक हकदेखि जनताका अधिकारहरू कार्यान्वयन हुन सकिरहेको छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रको जग स्थानीय तह र प्रदेश सरकार हुन् । स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ भने प्रदेश सरकार गरिब नेपाली जनताको लागि सेतो हात्ती बनेको छ । प्रदेश सरकार बलियो नभइ संघीयता बलियो हुन सक्दैन । तर, अहिले पनि प्रदेशको कतिपय अधिकार संघले कब्जा गरेको अवस्था छ । जसका कारण प्रदेश सरकार पंगु मात्रै बनेको छैन, प्रदेश सरकार खारेजीको माग गर्नेको संख्या पनि बढ्दै गएको छ ।

संविधान जारी भएको आठ वर्ष बित्दा नबित्दै दुईवटा आमनिर्वाचन सम्पन्न भइसकेका छन् । आमनिर्वाचनबाट निर्वाचित सरकार र संसद्ले पर्याप्त कानुन बनाउन सकेको छैन । राजनीतिक अस्थिरताका कारण पटकपटक सरकार फेरिने रोग नेपालमा सल्किएको छ । राष्ट्रपतिका लागि राजनीतिक दलहरूबीच सहमति/सहकार्य भएपनि संविधान कार्यान्वयनको दिशामा प्रमुख दलहरू बीच सहमति/सहकार्य हुन नसक्दा प्रश्न उठेको छ ।

यस्तो अवस्थामा संविधानको कार्यान्वयन र पूर्ण पालनामा राष्ट्रपतिले चासो राख्नुपर्छ । सबै दलहरूसँग समन्वय गरेर आइपरेका समस्या समाधान गरिनुपर्छ । जीवनभर राजनीति गरेका व्यक्तिले राष्ट्रपति पदमा पुगेपछि राजनीति बिर्सनु हुँदैन ।

राजनीति ठीक बाटोमा हिँड्यो कि बेठीक बाटोमा भन्ने ठम्याउनुपर्छ । यदि, राजनीतिले बाटो बिराउन थाल्यो भने त्यसप्रति राजनीतिक दलहरूलाई सचेत गराउनुपर्छ । भर्खरै अभ्यास गरिएको गणतन्त्रको जग बलियो बनाउन जनताले के भन्लान् भन्ने कुराको हेक्का राख्नुपर्छ ।

सँधै सुरक्षाकर्मीको घेरामा कुदेर जनताको समस्यालाई विगतका राष्ट्रपतिले जस्तो भुल्नु हुँदैन । जनताका छोराछोरी राष्ट्रपति भएको अनुभुति बटुवाले पनि गर्न पाउनुपर्छ । जनताकै बलिदानद्वारा स्थापित गणतन्त्रलाई संस्थागत गर्ने काम जनताकै साथबाट हुन्छ भन्ने कुरा भुल्नु हुँदैन । आशा गरौँ, परिपक्व राष्ट्रपति पौडेलले विगतका राष्ट्रपतिले गरेको गल्ती, कमजोरीहरू दोहोर्याउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्