Logo
Logo

नेपाली मौलिक फिल्मका प्रणेता प्रताप सुब्बाको निधन



काठमाडौं । नेपाली चलचित्रका बरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन भएको छ । निर्देशक सुब्बाको बिहीबार बिहान ७८ वर्षको उमेरमा निधन भएको हो ।

भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो । उनी पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक हुन् ।

२०३५ सालमा रिलिज भएको ‘परालको आगो’ निर्देशन गरेपछि फिल्मी करिअर अगाडि बढाएका उनले ‘बाँच्न चाहनेहरु’, ‘मसाल’, ‘कहीं अँध्यारो कहीं उज्यालो’, ‘दिदी’, ‘चट्याङ’ र ‘भीष्म प्रतिज्ञा’लगायतका व्यावसायिक फिल्म निर्देशन गरेका छन् ।
मौलिक फिल्मका प्रणेतासमेत मानिएका उनी निर्देशित ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म थियो । ४० को दशकमा नेपाल आएका प्रताप सुब्बाले फिल्म र टेलिफिल्म निर्देशन गर्दै आएका थिए ।

पहिलोपटक फिल्म बनाउन नेपाल आउँदा उनले राजेन्द्रकृष्ण मानन्धरसँग मिलेर भिडियो फिल्म ‘बन्द खामभित्र’ निर्माण गरेका थिए । नीर शाहलाई देखाएर उनले यो फिल्मको सेन्सर समेत गरेका थिए ।

उनले २०५० सालमा नेपाली फिल्म ‘चट्याङ’को पटकथा लेखे । त्यसपछि ‘भीष्म प्रतिज्ञा’ बनाएर उनी दार्जिलिङ फर्किए । केही वर्ष ‘डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर उनले प्राविधिक जन्माए । अहिले पनि उनले सुरु गरेको सिने युनिभर्स विजुलीबजार सञ्चालनमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्