काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा एमाले निकट अनेरास्ववियुले आयोजना गरेको कानुनका विद्यार्थीसँग केपी ओली विषयक कार्यक्रममा बोल्दै ओलीले संविधानले नै प्रधानमन्त्रीलाई संसद् विघटनका लागि बाध्य पारेको भन्दै यो संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताए ।
उनले भने, ‘मसँग दुईतिहाइ थियो । अत्यन्तै असहज परिस्थिति बन्यो। सरकार चल्न सक्ने अवस्था भएन । दुईतिहाइले चलाउन सकेन भने बाँकी रहेको एक तिहाइले सरकार चलाउन सक्छ ? कुनै कुरा संविधानमा स्पष्टता छैन र लेख्न छुटेको छ भने अरु सान्दर्भिक कुरा हेर्ने हो नि । सरकार चलेन भने के गर्ने ? सरकार भड्खालोमा हाल्ने कि ? राष्ट्रपतिलाई भरपर्दो लागेन भनेपछि प्रधानमन्त्रीले निर्वाचनको नयाँ मिति तोकेर विघटनको सिफारिस गर्नुपर्छ। संविधानले प्रधानमन्त्रीलाई बाध्य पारेको छ। मैले गरेको संसद विघटनको दोस्रो सिफारिस संविधानले बाध्य पारेको हो मैले होइन ।’
ओलीले संविधानअनुसार देश चल्नुपर्ने भन्दै संविधानमा संसद्ले नभएर अदालतले प्रधानमन्त्री खारेज र गठन गर्ने व्यवस्था नभएको धारणा राखे । उनले अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले विश्वासको मत लिन नसके कांग्रेस नेतृत्वमा सरकार बन्ने र कांग्रेसले पनि विश्वासको मत लिन नसके संसद् विघटन हुने जिकिर गरे ।











