काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन साँठगाँठे भएको टिप्पणी गरेका छन् ।
शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर बाहिरिनेक्रममा ओलीले यस्तो टिप्पणी गरेका हुन् । सञ्चारकर्मीसँगको सवाल जवाफमा ओलीले अहिलेको गठबन्धनमा रहेका दलको सोच बुझ्नै नसकिनेसमेत बताए ।

सञ्चारकर्मीले राष्ट्रपति र उपराष्ट्रपति चुनावको समीक्षा कसरी गर्नु भएको छ भन्ने प्रश्नमा उनले डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हुने बताउँदै भने, ‘तर यो साँठगाँठे सिस्टम भयो क्या । यसमा कसले जित्यो ? कसले हा¥यो ? कसको शक्ति कति ? भन्ने भएन ।’
अध्यक्ष ओलीले अहिले जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको प्रति प्रश्न गर्दै भने, ‘यस्तोमा के हिसाब गर्नुहुन्छ ?’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले र कांग्रेसबीच सहकार्य हुन्छ वा हुन्न भन्ने अहिले बताउँने बेला आइनसकेको बताए । प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने तयारी गरेका छन्, तपाईँले भनेको जस्तो कांग्रेस–एमालेबीच सहकार्य हुन्छ त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘यसबारे भन्ने बेला आएको छैन ।’
यस्तै, एमालेले सबै प्रदेश गुमाउँदैछ नि भनेर सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, ‘के हो गुमाउने भनेको ? प्रदेशमा हाम्रो सिट घट्छ कि के हुन्छ ?’
एमाले प्रतिपक्षमै बस्ने हो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ओलीले भने, ‘अनि दुनियाँमा प्रतिपक्षमा बस्दैन । अमेरिकामा रिपब्लिकन पार्टी प्रतिपक्षमा बसेको थाहा छ कि छैन ?’ र, ओलीले प्रश्न गरे, ‘राजनीति गर्ने सत्तामा पुग्नैकै लागि होला नि ?’











