काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संसद विघटनवाला भाषण बेमौसमी बाजा भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा भंग गर्नु प्रतिगमनकारी भनेर हिजोका दिनमा दक्षिणपन्थीसँग एकजुट हुन गएका वामपन्थीहरुमै त्यो कुरा पुष्टि नभएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार रातोपाटी डटकमसँग कुरा गर्दै गुरुङले भनेका छन्, ‘कहिलेकाहीँ सत्य कुरा पनि बेठिक समयमा बोलियो भने असर राम्रो हुँदैन । त्यसकारण विश्वासको मत दिने बेलामा प्रतिनिधिसभा भंग गर्नु ठिक÷बेठिक थियो भनेर भन्नुपर्ने प्रशंग नै थिएन । यो गठबन्धनको नाइके पार्टीको अध्यक्षले फेरि संसद भंग हुनसक्छ, त्यो उपयुक्त हो भन्यो भन्ने मौका पाए । प्रतिनिधिसभा भंग गर्नु प्रतिगमनकारी घटना हो भनेर हिजोका दक्षिणपन्थीसँग एकजुट हुन गएका वामपन्थीहरुमा पनि उनीहरुको त्यो कुरा फेरि पुष्टि नहुने भो नि । त्यसकारण बेमौसमको बाजा बजाउने कुराले पनि काम ग¥यो ।’
तपाइँको पार्टी अध्यक्षले संसदमा सम्बोधन गर्दा संसद विघटन ठीक हो भनेर सम्बोधन गर्ने, सरकारका निर्णयमा हस्तक्षेप गर्ने, त्यसको विश्लेषण गर्नुपर्दैन ? भन्ने प्रश्नमा उपमहासचिव गुरुङले यस्तो तर्क गरेका हुन् ।
माधव नेपालाई राष्ट्रपति बनाउने विषयमा पार्टी सचिवालय बैठकमा छलफल नभएको उनले बताएका छन् । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरेपछि त्यहाँ व्यापक निराशा छाएको टिप्पणी गर्दै उनले भनेका छन्, ‘१० वटा सांसद जितेको उसलाई यही कोर्समा हाम्रो पार्टीसँग मिलाउनुपर्छ भन्ने छलफल भएको हो । यो अहिले पनि चलिरहेको छ ।’
गुरुङले भनेका छन्, ‘त्यो पार्टी (एकीकृत समाजवादी)लाई मिलाइयो भने हाम्रो पार्टी कांग्रेसभन्दा ठूलो हुन्छ । संसदको सबैभन्दा ठूलो पार्टीका रुपमा प्रतिपक्षीमा बस्दा पनि त्यसको एउटा महत्व हुन्छ । यो समीकरण तलमाथि हुँदा पनि लार्जेस्ट पार्टीका रुपमा हाम्रो सरकार बन्छ । यो गठबन्धन तलमाथि हुने अवस्थामा पार्टी एकता गरेर माधवजीलाई प्रधानमन्त्री बनाएपनि हुन्छ ।’
उनले नेपाली कांग्रेस र माओवादीबाहेकलाई जुटाउन सकियो भने त्यो सम्भव हुनेसमेत उनको भनाइ छ । साथै, उनले अस्थिर राजनीतिलाई स्थिर रुपमा लैजान कांग्रेस र एमाले पनि मिल्न सक्ने बताएका छन् । ‘तर यो ठाउँमा अहिले नै मुलुक जाँदैन । तर यो पनि एउटा विकल्प हो’ उनले भने ।
उपमहासचिव गुरुङले कांग्रेससँग मिलौँ भनेर पार्टीका कुरा राखेको पनि बताएका छन् । उनले भने, ‘कांग्रेस र एमाले मिलौं भनेर मैले पार्टीभित्र कुरा उठाएको छु ।’ अर्को एक प्रश्नमा उनले राष्ट्रियताको सवालमा कांग्रेसभन्दा राप्रपा राष्ट्रवादी भएको समेत बताएका छन् ।
तपाइँले अरुलाई दक्षिणपन्थी भनिराख्नु भएको छ । तपाईहरुले सबैभन्दा बढी माया राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गरिराख्नु भएको छ । के त्यो प्रगतिशील पार्टी हो ? भन्ने प्रश्नमा उनले भने, ‘राप्रपालाई कुनैपनि हिसाबले प्रगतिशील पार्टी बन्न मिल्दैन । राष्ट्रियताको सवालमा कांग्रेसभन्दा राप्रपा राष्ट्रवादी हो । जसपा र लोसपा प्रगतिशील शक्ति हुन् । एमालेको नेतृत्वमा प्रगतिशील र राष्ट्रवादी शक्तिको गठबन्धन बनेको थियो ।’
उनले पार्टीले दुर्गा प्रसाइँलाई केन्द्रीय समितिमा मनोनित गर्नु गलत भएको बताएका छन् । दुर्गा प्रसाइँलाई इंगित गर्दै सोभिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।
तपाइँको पार्टीका केन्द्रीय सदस्य राजा बोकेर हिँड्नुभयो । तपाइँहरुले अराए–खटाएको हो ? भन्ने प्रश्नको जवाफमा गुरुङले भनेका छन्, ‘दुर्गा प्रसाईलाई केन्द्रीय समितिमा मनोनित गर्ने कुरा गलत थियो । अहिले हामीलाई त्यो महसुस भएको छ । उहाँलाई हामीले अराएको होइन । केपी ओलीले नै दुर्गा प्रसाईलाई खटाएको भन्ने कुरामा एक प्रतिशत पनि सत्यता छैन ।’











