काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उनका भारतीय समकक्षी द्रौपदी मुर्मूले शुक्रबार साँझ टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
टेलिफोन संवादका क्रममा भारतीय राष्ट्रपति मुर्मूले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो संर्घष र योगदान पु¥याउने व्यक्ति नेपालको राष्ट्रपतिमा निर्वाचित भएकामा खुशी व्यक्त गरेको राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशचन्द्र चालिसेले जानकारी दिए ।

संवादका क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, धार्मिक तथा भौगोलिकरूपले अत्यन्त निकट र प्रगाढ सम्बन्ध भएको छिमेकी रहेको समान धारणा राख्दै आगामी दिनमा यो सम्बन्ध अझ सुमधुर र घनिष्ट हुने विश्वास व्यक्त गरेका थिए ।
सोही अवसरमा राष्ट्रपति पौडेलले उनका भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमण गरी पशुपतिनाथ दर्शन गर्न निमन्त्रणा दिएका थिए ।











