काठमाडौं । संघीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वतन्त्र प्रेसमाथि अमर्यादित टिप्पणी गरेका छन् ।
शुक्रबार भेट्न संसद सचिवालय पुगेका पत्रकार महासंघ प्रतिनिधिमण्डलसँग सभामुख घिमिरेले पदीय मर्यादाबाहिर गएर ‘पत्रकारहरु बिक्रीमा रहेको’ जस्ता अमर्यादित र आपत्तिजनक आक्षेप लगाए ।

सभामुखले भने, ‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन । पित पत्रकारिता अहिले पनि डरलाग्दो गरी छ । जे जे कारणले भएपनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।’
उनले पत्रकार महासंघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर रोकि राख्नुनपर्नेसमेत बताए । उनले आफूले बोलेका अमर्यादित अभिव्यक्तिलाई बाहिर नल्याउनसमेत आग्रह गर्दै भने, ‘यो भन्न पनि हुँदैन तपाईंहरुले किनभने यो हाम्रो आफ्नो भित्री कुरा हो नि ।’
सभामुखजस्तो गरिमामय र तटस्थ संवैधानिक कर्तव्य निर्वाह गर्नुपर्ने पदमा बसेर घिमिरेले तल्लो स्तरको अभिव्यक्ति दिएकामा सरोकारवालाले गम्भीर आपत्ति जनाएका छन् ।
पत्रकारहरुले सभामुखको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएपछि सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीको वक्तव्य जारी गर्दै सुधार गर्नुपर्ने सन्दर्भमा व्यक्त धारणालाई अन्यथा नबुझिदिन अनुरोध गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ‘आएका प्रतिक्रियाहरुप्रति ध्यानाकर्षण भएको छ, सञ्चार क्षेत्रमा कतिपय विकृति पनि रहेको, त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा व्यक्त धारणालाई अन्यथा नबुझिदिन अनुरोध छ ।’
यता, पत्रकार महासंघले सभामुखको वक्तव्य सुधार र परिवर्तनका लागि नभई अक्षम्य आरोपका रुपमा प्रस्तुत हुनु लाजमर्दो भएको टिप्पणी गरेको छ । संघका प्रतिनिधिहरुले पत्रकारहरु बिक्रीमा रहेको असंवेदनशील टिप्पणीलाई कि तथ्यले पुष्टि गर्न, नत्र सभामुखले माफी माग्नपर्ने माग गरेका छन् ।











