
तुलसीपुर । जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेका छन् । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेका उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न थालेका हुन् ।
चार वर्षअघि तुलसीपुर आउँदा उनले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल रोगका बारेमा जानकारी पाएको जनाउँदै त्यसमा पनि आफूले अध्ययन गर्न थालेको बताए । ‘मैले चार वर्षअघि दाङको तुलसीपुरमै मधुमेह रोगका बारेमा अनुसन्धान गरेर विद्यावारिधि गरेकी छु”, नेपाली भाषामा डा नाकामुराले भने, ‘मैले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल एनिमियाबारे जानकारी पाएँ, अहिले यसकै रिसर्च गरिरहेकी छु ।’ यहाँ चार वर्षअघि तुलसीपुर आएर करिब तीन महिना तुलसीपुर बसेका थिए । त्यतिबेला सिकलसेलका बारेमा केही अध्ययन गर्न पाएको बताए । बीचमा पनि नेपाल आएर त्यो रोगका बारेमा अध्ययन गर्ने योजना रहे पनि कोभिडले गर्दा आउन नपाएको बताए ।
अहिले उनी एक हप्ताका लागि पुनः नेपाल आएका छन् । उनी एक हप्तासम्म दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाका सिकलसेल एनिमिया पीडितसँग भेटघाट गर्ने छन् । त्यसपछि पुनः जापान फर्किने उनले बताए । आगामी असारमा पनि पुनः नेपाल आएर बिरामीसँग भेटघाट गर्ने बताए ।
डा नाकामुरालाई थारू स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष जीवराज चौधरीलगायतले स्वागत गरेका थिए । त्यस अवसरमा अध्यक्ष चौधरीले सरकारले नै यो रोगका विषयमा चासो नदेखाएको अवस्थामा जापानी नागरिकले अध्ययन, अनुसन्धान गर्नु आफ्ना लागि ठूलो सहयोग रहेको बताए । सरकारी अध्ययनअनुसार नेपालमा ११.३ प्रतिशत थारू समुदायमा यो रोग लाग्ने गरेको तथ्याङ्क छ । तर पूर्णरूपमा थारू समुदायमा सिकलसेल परीक्षण नहुँदा त्यसले आधिकारिकता पाउन नसकेको भन्दै सबै थारू समुदायमा सिकलसेल एनिमिया जाँच हुनुपर्ने बताए ।











