
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको रास्वपाले विश्वास फिर्ता लिएको छैन । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिँदै छन् ।
पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दल र केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले आफ्ना मुद्दाहरुलाई अघि बढाउनका लागि भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिएर अघि बढ्ने निर्णय गरेको हो ।
न्यूनतम साझा कार्यक्रमका रहेका रास्वपाका शिक्षा, स्वास्थ्य, भ्रष्टाचार लगाएतका मुद्धाहरुलाई कार्यान्वयनका लागि पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिएको रास्वपाका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा पुगेको रास्वपा सभापति रवि लामिछानेले पुरानै स्थान पाए सरकारमा सहभागी योजना बनाएको छ ।
यसअघि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको रुपमा सरकारमा सहभागी थिए । तर, नागरिकता अवैध ठहर भएसँगै उनको सांसद पद गुम्दा उनले उपप्रधान तथा गृह गुमाएका थिए ।
पुनः नागरिकता प्राप्त गरेपछि लामिछानेले गृहमन्त्री बन्नका लागि अनेकौ प्रयास गरे पनि असफल भएको थियो । त्यसपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।
यसपटक पनि रविले गृह पाउने सम्भावना कम छ । किनकी, राष्ट्रपतिको निर्वाचनसँगै सरकार सञ्चालनका लागि प्रधानमन्त्रीको प्राथमिकता फेरिएको छ ।











