
काठमाडौं । प्रदेशसभाले बहुमतको बलमा प्रदेश १ को नाम ‘कोशी’ कायम गरेपछि प्रदेश १ अशान्त बनेको छ ।
प्रदेश १ को नाम कोशी कायम भएदेखि नै पहिचान पक्षधरबाट त्यसको विरोध भएको थियो । विरोधसँगै पहिचान पक्षधर राजनीतिक दल संघ संस्थाहरूले कोशी नाम खारेजीको माग गर्दै संयुक्त संघर्ष थालेका छन् ।
शान्तिपूर्ण प्रदर्शन गर्दै आएको प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आइतबार प्रदेशको राजधानी विराटनगरमा वृहत प्रदर्शन गरेको छ ।
प्रर्दशन हुने भएपछि स्थानीय प्रशासनले निषेधित क्षेत्रहरू घोषणा गरेको थियो । तर, प्रदर्शनकारीले निषेधित क्षेत्रहरू समेत तोडेका छन् ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर समेत गरेको छ । प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेपछि आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री हिक्मत कार्कीको पुतला दहन गरेका छन् ।
कोशी प्रदेश अशान्त बन्दै गएको छ । प्रदर्शनकारीहरू कोशीविरुद्ध सङ्गठित हुँदै गएका छन् तर राज्यपक्षले भने यस विषयमा खास चासो दिएको छैन ।
तस्बिरहरू– सुजाता लिम्बू































