
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको आइतबार भएको निर्वाचन अन्तर्गत नतिजा आउने क्रम जारी छ । धेरैजसो क्याम्पसमा आइतबार साँझदेखि नै गणना सुरु भएको थियो ।
त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु चुनाव भएको हो । काठमाडौं उपत्यकाभित्रका ७ क्याम्पसमा भने आइतबार चुनाव हुन सकेन ।
साेमबार बिहानसम्म केही क्याम्पसको नतिजा आएको छ । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्वियुका विराज अर्याल स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएका छन् । त्यहाँ विद्युतीय मतदान भएको थियो ।
यहाँ अर्यालले अखिल क्रान्तिकारीका अजयकुमार मण्डललाई ३० मतले हराएका हुन् । त्यसैगरी यहाँ नेविसंघबाट विद्रोह गरेका शंकर पन्थी र स्वतन्त्रबाट युरिका वन तथा नविन खनाल सभापतिका लागि प्रतिस्पर्धामा थिए ।
२६ सय ९९ मतदाता रहेकोमा यहाँ २३ सय ४१ जनाले मतदान गरेका थिए । इन्जिनियरिङ पढाइ हुने यहाँ विद्युतीय मेसिनको प्रयोग हुँदा मतदान पनि चाँडो भएको थियो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा सभापति निर्वाचित भएका छन् । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ओझाले ९६२ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाएका थिए । नेविसंघका ओझा ३३१ मतको अग्रतासहित निर्वाचित भएका हुन् । यहाँ १३ वटा विद्युतीय मेशिन राखिएको थियो। यहाँ कुल मतदाता ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो ।
काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । नेविसंघका पुष्कर विक्रम शाही ६१९ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत पाए भने अखिल क्रान्तिकारीका स्पन्दन थापा क्षेत्रीले ३३८ मत पाएका छन्।
त्यस्तै नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू) का संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुका उम्मेदवार कैलाश तामाङलाई पराजित गरेका हुन् ।
यसैगरि पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीका त्रिसना आले मगरलाई पराजित गरेका हुन् ।











