
काठमाडौं । नेपाली कांग्रेस चितवनले क्षेत्र नं. २ मा आगामी वैशाख १२ गते हुने उपनिर्वाचनका लागि ११ जना आकांक्षीको नाम सिफारिस गरेको छ ।
कांग्रेस क्षेत्रीय समिति क्षेत्र– २ को बैठकले गत निर्वाचनमा पराजय भोगेका उम्मेदवार उमेश श्रेष्ठसहित जिल्ला पार्टी सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, देवेन्द्र गुरूङ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम केन्द्रमा सिफारिस गरेको हो ।
आकांक्षी धेरै भएपछि उनीहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाएको क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए । त्यस्तै बैठकले कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
गत मंसिरमा भएको संघीय निर्वाचनमा चितवन २ बाट जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फर्जी नागरिकता पेश गरी उम्मेदवार बनेर जितेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो ।











