Logo
Logo

बारा, तनहुँ र चितवनमा एकैदिन उपनिर्वाचान, चैत २० गते मनोनयन दर्ता


567
Shares

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त दुई निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त छ ।

संघीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो ।

आयोगले दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशन गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

कार्यक्रमबमोजिम मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न दिइनेछ । चितवन–२ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुँदै छ ।

सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अयोग्य रहेको ठहर गरेपछि सो क्षेत्र रिक्त भएको थियो । उपनिर्वाचन हुने बारा, तनहुँ र चितवन तीनवटै क्षेत्रमा उम्मेदवारी दर्तादेखिको कार्यक्रम सँगसँगै अगाडि बढ्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्