
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजना’ को शिलान्यास गरेका छन् ।
मंगलबार बिहान हेलिकोप्टरमार्फत गोरखाको पालुङटारस्थित बिमिरे पुगेर प्रधानमन्त्री प्रचण्डले सडक स्तरोन्नतिको शिलान्यास गरेका हुन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृहनगर रहेको गोरखा उनको निर्वाचन क्षेत्र पनि हो ।
प्रधानमन्त्री प्रचण्डसँगै कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.भट्टराई, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद हितराज पाण्डे, प्रदेश सांसद फणिन्द्र देवकोटा र शुरेन्द्र पाण्डे, पालुङटारका मेयर विवश चिन्तन सहभागी थिए ।
यस योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ ।
भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ । वूड हिल–लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ ।











