
काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बोलाई आन्दोलनरत पक्षधरले ज्यान मार्ने धम्की दिएका छन् ।
प्रदेश १ को नाम कोशी कायम गरिएपछि असन्तुष्ट पक्षले पुनः नामकरणको माग राख्दै आन्दोलन जारी राखेका छन् । यसै क्रममा पूर्वमन्त्री आङ्बोलाई आन्दोलनरत समूहले ज्यान मार्ने धम्की दिएका हुन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति ताप्लेजुङको बैठकलाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका आङ्बोमाथि आक्रमणको प्रयास गर्दै आन्दोलनरत पक्षले ज्यान मार्ने धम्की दिएको भिडियो भेटिएको छ ।
पूर्वमन्त्री आङ्बाेकाे गाडी पछ्याउँदै मोटरसाइकलमा सवार आन्दोलनकारीहरूले ‘इन्द्र आङ्बोलाई बाटो बाटोमा छेकेर हत्या गर्ने योजना रहेको छ’ भनेको सुनिन्छ ।
प्रहरीको स्कटिङमा रहेको आङ्बोको गाडीलाई मोटरसाइकलमा लखेटिरहेका आन्दोलनकारीले आङ्बोलाई अपशब्दसमेत प्रयोग गरेको सुनिन्छ ।
सामाजिक सञ्जालमा फैलिएको भिडियोमा आङ्बोको हत्या गर्ने योजना रहेको बोलेको सुनिएपनि बोल्ने व्यक्ति को हुन भन्नेबारे खुलेको छैन ।
अहिले कोशी नामकरण विरुद्ध संघर्ष गरिरहेका पहिचानवादी समूहले ‘प्रदेश १ पुनः नामाकरण संघर्ष समिति’ बनाएर प्रदर्शन गरिरहेका छन् । पूर्वमन्त्री आङ्बोको हत्या गर्ने योजना रहेको बताउने ति व्यक्तिले पनि प्रदेश १ पुनः नामाकरण संघर्ष समितिकै नाम लिएका छन् ।
प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका नेतृत्व भने यस विषयमा बेखबर छन् । संघर्ष समितिका नेतृत्वहरू पहिचानको विपक्षमा मतदान गर्ने नेतृत्वप्रति सकारात्मक धारणा रहेतापनि हत्या जस्तो विषय सोच्न नसकिने बताउँछन् ।
प्रदेश १ को नाम कोशी कायम गर्ने सन्दर्भमा नेकपा माओवादी केन्द्रले पनि पक्षमा मतदान गरेको थियो । विगतमा पहिचानको मुद्दा बोकेको माओवादीले नै पहिचानको विपक्षमा मतदान गरेको भन्दै प्रदेश १ मा माओवादीप्रति आक्रोश बढेको छ ।