काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मुस्लिम आयोगले ललितपुरमा मंगलबार गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक आयोगलाई जागिर खाने थलोका रुपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए ।
उनले भने– ‘आयोग जागिर खाने थलो बनाउन कुन बेला कुन हुन्छ ? र, म त्यहाँ पावरमा जान्छु भन्नका लागि होइन । जसरी मुस्लिम आयोगबारे अन्तरिम संविधानमा पनि कुनै कुरा लेखिएन । त्यसपछि यसलाई आयोगको रुपमा राख्नुपर्छ भनेर आन्दोलन भयो, त्यो आन्दोलन गर्ने अगुवाहरुमध्येकै माननीय समिम मियाँ अन्सारी त्यो अगुवाइ गर्ने मध्येको प्रमुख एकजना हुनुहुन्छ । अरु पनि लाग्नुभएको छ । तर उहाँ पनि लाग्नुभयो । सायद त्यही कुरालाई कदर गर्दै त्यसैको मक्सद पूरा होस् भनेर उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हुनुपर्छ ।’
उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगले सोहीअनुसार काम गर्नुपर्ने जनाए । उनले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरुलाई आग्रह गरे ।
उनले भने– ‘आयोगहरुले पनि आफ्नो सिर्जनात्मक, रचनात्मक क्षमताका साथ दिएको जिम्मेवारीहरु, परिभाषित कामहरुलाई कुशलतापूर्वक पूरा गर्न जति तपाईंहरु रचनात्मक हिसाबले लाग्नुहुन्छ । त्यसको औचित्य त्यति नै पुष्टि हुन्छ । सबै आयोगका लागि त्यही नै हो ।’
आयोगहरुलाई चाहिने न्यूनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याई गर्न नहुने पनि उनले धारणा राखे । अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरु अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए ।











