Logo
Logo

१० दलीय गठबन्धनमा कसलाई कति मन्त्रालय ? यस्तो छ प्रस्तावित भागबण्डा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई पूर्णता दिन गृहकार्यमा जुटेका छन् । सोमबार दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड एक/दुई दिनभित्रै सरकारलाई पूर्णता दिने गरी छलफलमा जुटेका हुन् ।

२५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने र सांसदका आधारमा भागबन्डा मिलाउने गरी प्रस्ताव अघि सारेका छन् ।

गठबन्धनमा धेरै दलहरु भएकाले सांसदहरुको संख्याको आधारमा भागबन्डा मिलाउने तयारी भइरहेको नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले बताए । नेपाली कांग्रेसले १० मन्त्रालय दाबी गरेको छ । तर, कांग्रेसले ८ भन्दा धेरै मन्त्रालय पाउने सम्भावना नरहेको नेता खतिवडाले बताए ।

उनले भने, ‘कांग्रेसले ८ भन्दा बढी मन्त्रालय पाउने सम्भावना छैन । गठबन्धनमा दलहरु धेरै भएकाले सबैलाई मिलाउने प्रयास भइरहेको छ । कांग्रेसबाट प्रत्येक प्रदेशबाट १ जना र एक महिला हुने सम्भावना छ ।’

त्यस्तै नेकपा एकीकृत समाजवादी, जसपाले २–२ मन्त्रालय पाउने र नेपाल समाजवादी पार्टी र स्वतन्त्रलाई एक एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । एकीकृत समाजवादीले तीन मन्त्रालय दावी गरेको छ ।

नेता खतिवडाले पत्रकारसँग कुरा गर्दै भने, ‘एकीकृत समाजवादी र जसपालाई दुई–दुई मन्त्रालय दिने कन्फर्म छ । अन्य मधेसवादी पार्टीहरुबाट एक–एक मन्त्रालय दिने मैले बुझेको छु । बाबुरामजीको पार्टीलाई एक र स्वतन्त्र एक जनालाई समेट्दा झण्डै नौ मन्त्रालय पुग्छ ।’

नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्रीसहित ४ मन्त्रालय यसअघि नै लिइसकेको छ । यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपा अहिल्यै सरकारमा जाने कि पार्टी सभापति रवि लामिछाने बैशाख १० को उपनिर्वाचनबाट जितेर आएपछि जाने भन्ने विषयमा अनिर्णित छ ।

रास्वपा सरकारमा नगएको अवस्थामा बाँकी तीन मन्त्रालय जसपा, नेकपा एस, कांग्रेस वा जनमतले पाउनसक्ने छन् । जनमतले एक मन्त्रालयमा आफूहरु चित्त बुझाउन नसक्ने यसअघि नै गठबन्धनमा जानकारी गराइसकेको छ । उसलाई ‘पावर शेयरिङ’को आधारमा मधेस प्रदेशको मुख्यमन्त्री दिने गरी मनाउने प्रयास भइरहेको छ ।

यस्तै नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई एक/एक वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्