Logo

बारा-२ उपनिर्वाचन : उपेन्द्रलाई गठबन्धनभित्रबाटै चुनौती



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई उपराष्ट्रपति बनाएर रिक्त हुने उक्त क्षेत्रबाट उपनिर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रवेश गर्न चाहेको चर्चा सुरुदेखि चलिरहेको थियो । अध्यक्ष यादवले भने चर्चा चले पनि आफूले उम्मेदवार बन्नेबारे केही नसोचेको बताएका छन् ।

जिल्ला र केन्द्रका कतिपय नेताहरूले भने अहिलेसम्म अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग निश्चित रहेको बताएका छन्। जिल्लाका नेताहरूको प्रतिक्रिया र आकाङ्क्षा अनि सम्भावित उम्मेदवारको राजनीतिक उचाइले त्यसको निधो गर्ने ठानिएको छ ।बारा-२ मा हुने चुनावमा गठबन्धनभित्रबाट पाउने समर्थन र सम्भावित जोखिमको आकलन गरेर उम्मेदवारीबारे निर्णय गर्ने नेताहरुको भनाइ छ ।

यादवको चर्चासँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि उम्मेदवारबारे छलफल गरिरहेको छ । लोसपाले बारा-२ बाट चुनाव लड्ने निश्चित रहेको तर उम्मेदवार र तालमेलबारे निर्णय गर्न बाँकी रहेको लसपाका नेता केशव झाले बताए ।

लोसपा र जसपा दुवै दल सत्ता गठबन्धनमा सामेल छ । दुवै दलबाट निर्वाचनमा उम्मेवारी दिन आकांक्षी देखिएपछि चुनौति देखिएको छ ।

मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा बारा-२ बाट पनि उपेन्द्र यादवको नाम उम्मेदवारको रूपमा पार्टीमा सिफारिस भएको थियो। तर उनले सप्तरीबाट उम्मेदवारी दिएका थिए । जनमत पार्टीका अध्यक्ष सीके राउतले उनलाई ठूलो मतान्तरले पराजित गरेको थियो ।

बारा-२ सँगसँगै तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन हुन लागेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकाले तनहुँ र सर्वोच्च अदालतको फैसलापछि रवि लामिछाने निर्वाचित चितवनमा फेरी चुनाव हुन लागेको हो। वर्तमान सत्तागठबन्धनका नेताहरूका अनुसार तीनवटै स्थानमा हुने उपनिर्वाचनमा सकेसम्म संयुक्त उम्मेदवार बनाउनेबारे छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्