
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ५७औं साधारणसभाको संघारमा छ । यही चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न हुने यस साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने भएकोले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरु देश दौडाहामा छन् ।
वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आगामी तीन वर्षका लागि स्वतः अध्यक्ष बन्ने हुँदा त्यसपछिको कार्यकालको अध्यक्ष बन्न वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईको प्रतिस्पर्धा छ ।
महासंघ नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धालाई रोकेर ‘चेन अफ कमाण्ड’को आधारमा नेतृत्व चयन गर्ने उद्देश्यले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रावधान राखे पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारहरूको हानथापबाट विकृति बढेको छ ।
नेतृत्वमा पुग्न अस्वस्थ प्रतिष्पर्धामा उत्रिनुनै थियो भने विधान संशोधनको औचित्य के भयो ? महासंघका मानार्थ सदस्य किशोर प्रधान प्रश्न गर्छन ।
दृष्टिसँगको कुराकानीमा प्रधानले एक जना व्यक्तिलाई अध्यक्ष बनाउन विधान नै संशोधन गर्नु महासंघको इतिहासमा ठूलो भूल हो भन्छन् ।
स्थापनाकालदेखि लोकतान्त्रिक विधिमार्फत महासंघको नेतृत्व चयन हुँदै आएकोमा पछि ‘बिचौलिया’ हाबी हुँदा महासंघको गरिमामय इतिहास नै धुमिल भएको आरोप प्रधानको छ ।
प्रधानका अनुसार यसपटक पनि विधान संशोधनको प्रस्ताव दर्ता हुन्छ । त्यसमाथि छलफल हुन्छ र महासंघको इतिहास जोगाउन पनि प्रत्यक्ष अध्यक्षको निर्वाचन गरिनु पर्छ ।
महासंघको इतिहासमा योगदान पुर्याएका प्रधानको अनुभवमा महासंघ, महासंघजस्तो भएन । यसको नेतृत्व सत्ताको चाकडी गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने बाटोमा लाग्यो । त्यसैले महासंघको एजेण्डा सरकारले सुनुवाइ गरेको छैन ।
महासंघको नेतृत्वमा ५० प्रतिशत जिल्ला, नगरको भूमिका छ, जिल्लाका साना व्यवसायीहरु बैंकबाट पीडित छन् । कतिपयले आत्महत्या गरेका छन्, तिनीहरुको समस्या समाधान गर्न महासंघको नेतृत्व चुकेको आरोप प्रधानको छ ।
महासंघको राजनीतिबाट अलग भएका प्रधान विधानको मर्म र भावनाअनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु निर्विरोध बनाउनुपर्छ भन्ने मान्यतामा छन् ।
मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अध्यक्षहरु निर्विरोध हुनु भनेको केन्द्रमा पनि निर्विरोध नेतृत्व चयन हुनुपर्छ भन्ने सन्देश हो । तर, महासंघभित्र ‘बिचौलिया’ हाबी भएको कारण नेतृत्वलाई झगडा गराइरहेका छन् ।
यो राम्रो प्रवृत्ति होइन, सर्वसम्मत नेतृत्वका लागि साधारणसभामा आवाज उठ्नुपर्छ, त्यसविरुद्ध जो जान्छ त्यसलाई हराउनुपर्छ प्रधान भन्छन् ।
अहिलेसम्म भावी अध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा कसलाई ल्याउने भन्ने सार्वजनिक गरेका छैनन् । महासंघ सुत्रका अनुसार ढकालले उमेशलाल श्रेष्ठलाई अगाडि बढाए पनि अन्ततः ढकालको उम्मेदवार रामचन्द्र सांघाइ हुन् ।
यता, वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले आफ्नो टिम घोषणा गरेका छन् । श्रेष्ठको टिममा जोत्सना श्रेष्ठ, मनिस श्रेष्ठ र अरुण सुमार्गी छन् ।











