
काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा ग्यास सिलिन्डर बोकेको मालबाहक मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक बिहान ८ः४० बजे दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनमा मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय चालक कृष्ण चौधरी, कामदार अन्दाजी २३ वर्षीय लक्षीराम चौधरी र अन्दाजी २२ वर्षीय विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए ।
गाडीमा रहेका सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी करिब दुई सय मिटरमाथिबाट खसेको प्रहरीले जनाएको छ । गाडी पल्टिँदा ग्यासका सिलिन्डरहरू पाखामा छरिएका छन् ।
केही सिलिन्डर कुच्चिएका, केही सिलिन्डरको ग्यास लिक भएको र केही भने राम्रै अवस्थामा रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा पुगेर लिक भएका सिलिन्डरलाई साइड लगाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।











