Logo
Logo

तिब्बती शरणार्थीलाई नक्कली नागरिकता बनाइदिने पाँच जना पक्राउ


567
Shares

काठमाडौं । तिब्बती शरणार्थीहरुलाई नेपाली नागरिकता बनाइदिने गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई चैत ५ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेकामा बुधबार सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार काठमाडौंको बबरमहल क्षेत्रमा बसेर सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैरनेपाली व्यक्तिहरूको सक्कली नेपाली नागरिकतासमेत बनाइदिने गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ पर्नेमा झापाको कचनकबलका कृष्णबहादुर कटवाल, भक्तपुरको मध्यपुर थिमिका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित तिब्बती शरणार्थी क्याम्पका लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।

पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनको साथबाट विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक संस्थाको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्त्वपूर्ण कागजात बरामद भएको प्रवक्ता राठौरले जनाए ।

पक्राउ परेका व्यक्तिबाट किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासमेत फेला परेको प्रहरीले जनाएको छ ।

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुका रूपमा उपस्थित गराई सनाखत गराउने गरेकोसमेत खुलेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठलाई मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई दिई प्रति पटक १० हजार रुपैयाँ दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई सनाखत गर्ने गराएको खुलेको छ । उनै श्रेष्ठ तिब्बती नागरिक सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोगी बनेका थिए ।

उक्त गिरोहले तिबब्बी शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका थिए । उनले गत फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना का.म.न.पा. १७ राखी ना.प्र.प.नं. २७–०१–७९–१५९०१ को नेपाली नागरिकता लिएको देखिएको छ ।

यस्तैगरी नागरिकता लिएका अन्य २५–३० जनाको सक्कलै नागरिकता प्राप्त भई सोउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अर्का विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाडौंभित्र मिलाउनुपर्ने सबै कामको उनैले गरेको प्रहरीले जनाएको छ ।

लामाले भित्र मिलाउनुपर्छ भनी कटवालसँग प्रति नागरिकता १ लाख ५० हजारसम्म लिई नागरिकता प्राप्त गर्ने कार्यमा सहजीकरण गर्दै आएको पाइएको प्रहरीको भनाइ छ ।

यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र उक्त कार्यमा निज कटवाल जस्तै अन्य ४÷५ जना व्यक्ति पनि सक्रिय रहेको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्