
काठमाडौं । गोरखाको लार्केपासका लागि जाँदै गरेका दुई जना नेपाली हिउँमा फसेपछि उद्धार गरिएको छ।
लार्केपास गर्न बुधबार बिहान सामागाउँको लार्के गाउँबाट त्यसतर्फ लागेका उनीहरु हिउँमा फसेपछि उनीहरूलाई सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उद्धार गरिएको हो।
एक पर्यटकले नवलपुरका सौरभ खनाल र अनिता घले हिउँमा फसेको जानकारी दिएपछि उद्धार गरेर धर्मशालासम्म ल्याइएको प्रहरीले जनाएको छ ।
उनहिरुलाई हेलिकप्टरमा ल्याउन प्रमुख जिल्ला अधिकारीबाट पहल भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।
उनीहरू बुधबार हिउँमा फसेको जानकारी आएको थियो। लगत्तै प्रहरीहरू त्यसतर्फ गएर उद्धार गरेको उनले बताए। उनीहरू धर्मशालाबाट करिब दुई घन्टा माथि बाटोमा हिउँमा फसेको जानकारी आएपछि उद्धार गरिएको हो। उद्धार गरिएकाहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गोरखाको धर्मशालाबाट लार्केपासको ५ हजार १ सय ६ मिटरको उचाईमा ४ घण्टामा पुगिन्छ । यो उचाईमा पुग्ने क्रममा कोही पदयात्रीलाई अक्सीजन कमी भएर स्वासप्रस्वासमा कठिनाई, वान्ता हुने, धेरै थकान महसुस हुने लगायतका समस्या देखा पर्ने गर्दछ ।
हिमालको फेदीको साघुरो र हिउँ माथीको बाटोमा घण्टौं पैदल हिडनु परे पनि लार्केपास गरेका विदेशी पर्यटकहरु पनि निकै खुशी भेटिन्छन् ।











