
काठमाडौं । वातावरण तथा पर्यटन विकाश केन्द्र (सेड नेपाल)ले धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई वातावरण प्रदुषण गर्ने कार्य तत्काल बन्द गर्न अल्टिमेटम दिएको छ ।
बुधबार सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठको नेतृत्वमा गएको टोलीले मेयर साम्पाङलाई भेटेर धरानमा पानीको समस्यालाई नीतिगत रुपमा सुधार गर्न चारकोशे जंगलको फोहोर फाल्ने स्थानमा आगो लगाई वातावरण प्रदुषण गर्ने कार्य तुरुन्त वन्द गर्न १५ दिने अल्टीमेटम दिएका हुन् ।
उनीहरुले ५ बुदे ज्ञापनपत्र बुझाउँदै चारकोशे जंगलमा फोहोर फाल्ने र आगो लगाएर प्रदुषण फैलाउने कार्य तुरुन्त बन्द गर्न भनेका हुन् ।
त्यस्तै वातावरणबीदहरुले धरानका जलाधार क्षेत्रहरुको संरक्षणका लागी एक अधिकार सम्पन्न एकिकृत जलाधार संरक्षण समितिको गठन गरी सिमांकन गर्नु पर्ने, जलाधार क्षेत्रको दिगो संरक्षणको लागी वातावरण सेवा भुतmान प्रणाली लागु गर्न पनि निर्देशन दिएका छन् ।
धरान खानेपानी व्यवस्थापन बोर्डको संचालक समितिमा राजनीतिक भागवण्डाको आधारमा नियक्ति हुने प्रथा बन्द गर्नु पर्ने, बोर्डको महाप्रवन्धक र कर्मचारीहरुको नियुक्ति लोकसेवा आयोगबाट वा बोर्डको कार्यविधि अनुसार हुनु पर्ने उनीहरुले माग राखेका छन् । ती मागहरु तत्काल सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिए ।
हाल नगर प्रमुखले गर्न थालेका पानीका सुधारका कामहरु सह्रानीय भए पनि नीतिगतरुपमा अझै धेरै सुधार गर्नु पर्ने वातावरणबीदहरुको भनाई छ ।











