Logo
Logo

पायक पर्ने ठाउँमा परीक्षाको केन्द्र राख्न विद्यार्थी संगठनको माग


756
Shares

काठमाडौं । विभिन्न चार विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने परीक्षाको केन्द्र पायक पर्ने ठाउँमा राख्नुपर्ने माग गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरुपमा र नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले छुट्टै विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौं ।’

परीक्षा नियन्त्रण कार्यालयले यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्