Logo
Logo

प्रधानसेनापति शर्माको टिप्पणी- सेनाको संख्या स्वघोषित विज्ञले तोक्ने होइन


2.4k
Shares

पोखरा । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनाको संख्या निर्धारण गर्ने काम स्वघोषित विज्ञ र गैरसरकारी संस्थाको नभएको बताएका छन् । उनले समय समयमा कसैको इसारामा बाहिरी व्यक्तिबाट सेनाको संख्याबारे हुने टिप्पणी र अनर्गल प्रचारमा नलाग्न आग्रह गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

पोखरामा बिहीबार भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने, ‘संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइज हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य नचाहिँदो नचाहिँदो किसिमका कुराहरू पनि हुने गरेको छ । यसलाई प्रकाशित गर्ने गरेको पनि पाइएको छ । यो हेर्दा हाँस्यास्पद हो । नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ । कुनै आईएनजीओ र एनजीओमा बसेर आफैँ स्वघोषित डाक्टर, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले होइन ।’

प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको संविधान प्रद्दत्त जिम्मेवार रहेको बताए । उनले विकास निर्माण, पर्यावरण संरक्षण तथा विशुद्ध शान्ति स्थापना र व्यवस्थापनलगायत नेपाली जनतालाई आवश्यक परेका अन्य कुराहरूमा सहयोग गर्ने जिम्मेवारीसमेत सेनाको भएको जिकीर गरे ।

प्रधान सेनापति शर्माले भने, ‘नेपाल सरकारबाट तोकिएका विभिन्न कार्यहरू गर्नु नै हामीले आफ्नो जिम्मेवारी हो भन्ने गरेका छौं । यिनै जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिबद्ध छ ।’

उनले नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूका बारेमा बेला मौकामा दूष्प्रचार गर्ने नियतले अनर्गल गाली हुने गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट हुने त्यस प्रकारका झुठा प्रचारबाजीहरूबाट तपाईंहरू टाढा रहनुपर्छ’ प्रधान सेनापति शर्माले भने, ‘हाम्रा वेबसाइटहरु, सम्बन्धित विभागहरूबाट गरिएका परिपत्र, नेपाल सरकारका आदेश र निर्देशनहरूबाट नै प्रस्ट रुपमा कुरा बुझ्न सकिन्छ, अनर्गल प्रचारको पछि नलाग्नुहोला ।’

पोखराको फूलबारी ब्यारेकमा भएको पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८ सय ९४ भूपूसैनिक सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्