काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एसको हैसियतलाई कमजोर नठान्न आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित पार्टी निकट भूतपूर्व सैनिक तथा प्रहरीको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफूहरूको भूमिकालाई कम नआँक्न आग्रह गरेका हुन् ।

उनले भने– ‘नेपालको राजनीतिमा जहिले पनि कोर्स करेक्सन गर्न हामीले भूमिका खेल्यौं । हाम्रो हैसियतलाई कसैले कम आँक्ने काम नगरुन् । हाम्रो शक्ति १० वटा भएपनि हामी निर्णायक हुन सक्छौं । प्रधानमन्त्री ज्यू ख्याल रहोस् तपाईसँग १० वटा पार्टी छन् । म २२ वटा पार्टी मिलाएर झण्डै २ वर्ष मुलुक चलाएँ। हामीले चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति हुन सक्थ्यौं । त्यस्तो गरेको भए धोकेबाज त हुन्थ्यौं होला । इज्जत र प्रतिष्ठाभन्दा ठूलो कुरा केहि होइन । ’
उनले समाजलाई परिवर्तन गर्न कम्युनिस्ट पार्टी चाहिएको बताए । उनले भने, ‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेका हौं । राजतन्त्र उन्मुलन गरेर देशको राजनीतिक कोर्स चेन्ज गर्यौं । पार्टी एकताको लागि त्याग गर्न तयार हुनुपर्छ । विभिन्न पार्टीविरुद्ध गलत प्रवृत्ति रोक्न जुध्नै पर्छ । समाजलाई परिवर्तन गर्न कम्युनिस्ट पार्टी चाहिएको छ । समाजवाद युद्ध चाहिने व्यवस्था होइन । समाजवाद सबैभन्दा उत्कृष्ठ व्यवस्था हो । ’











