विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट तत्काल नबाहिरिने भएको छ । माओवादी केन्द्र कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारबाट आफ्ना मन्त्रीहरू तत्काल फिर्ता नहुने बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘अरु प्रदेशको सत्ता समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ । अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन । त्यसैले तत्काल हाम्रो पार्टीका मन्त्रीहरु तत्काल फिर्ता हुँदैनन् ।’
कोशी प्रदेशमा मध्यावधि चुनाव हुने हल्लामात्रै भएको पनि उनले बताए । उनले भने, ‘मध्यावधिमा जाने कुरा कहाँबाट आयो । कुनैपनि हालतमा प्रदेश मध्यावधिमा जाने कतै पनि सम्भावना छैन । यो सामान्य गणितले पनि त्यही भन्छ । दोस्रो कुरा सभामुखको राजीनामा बारे हामीले कल्पना पनि गरेका छैनौँ ।’
उनले सभामुखले राजीनामा नगरी पनि सरकार बन्ने कुराको निम्ति कतै पनि अवरोध नभएको पनि उनले बताए । ‘अहिलेको सरकारमा माओवादी पार्टी सहभागी छ । अहिले तत्काल हामीले सरकारबाट हाम्रो मन्त्रीहरू फर्किने या सरकारलाई दिएको विश्वासको मत अहिले नै हामीले फिर्ता लिने पक्षमा हामी छैनौँ’ उनले भने ।
केन्द्रको गठबन्धनले कोशी प्रदेशको समीकरणको बारेमा सामान्य चासो र जानकारी लिएपनि ठोस रूपमा कसरी अगाडि जाने भन्ने बारेमा कुनै निर्देशन नभएको उनको भनाइ छ ।
आङ्बोले भने, ‘यहाँ विशिष्ट अवस्था भएको कारणले गर्दा पनि वर्तमान सरकार फेरबदल र नयाँ सत्ता समीकरणको बारेमा सोचिसकेका छैनौँ । अहिले स्थितिको परिपक्वता होस् । समग्र केन्द्रको राजनीतिक अवस्था कसरी अगाडि बढ्छ । त्यो अनुसार प्रदेशको स्थिति के हुन्छ भन्ने विषयमा प्रदेशसभामा रहेका दलहरूले आवश्यक छलफल गर्छौँ ।’
उनले नेताहरूसँग पनि आवश्यक परामर्श गरेर प्रदेशमा स्थिर र स्थायी प्रकृतिको सरकार दिने पक्षमा आफूहरु रहेको बताए ।
माओवादी केन्द्र एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारबाट भने शुक्रबार नै बाहिरिएको छ ।











