जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चाहेकै बेला एमालेले वर्तमान सत्ता गठबन्धनलाई भत्काउँन सक्ने बताएका छन् । सत्ता गठबन्धन भत्काउनसक्ने हैसियत एमालेसँग रहेको दावी गर्दै उनले भने, ‘जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ । तर, हामी जिम्मेवार प्रतिपक्ष भएर काम गर्न खोजेका हौँ ।’

शुक्रबार एमालेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोेल्दै नेता पौडेलले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको समेत आरोप लगाए । उनले सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेको बताउँदै यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने तर्क गरे ।
नेता पौडेलले भने, ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्दैन । राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान छैन । तपाईँहरुले देखिरहनुभएको छ, जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने । सरकारमा कसरी पुग्ने चिन्ता मात्र थियो । अब सरकार कसरी टिकाउने ? सरकार कसरी जोगाउने ? योभन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन ।’











