Logo
Logo

महानिरीक्षक धिरजप्रताप सिंहसहित वरिष्ठ प्रहरी अधिकृतहरुलाई गरियो बिदाइ



काठमाडौं । ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन भएका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले शुभकामनासहित हार्दिक बिदाइ गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गरे ।

प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरे । संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई उनले निर्देशनसमेत दिए ।

प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पु¥याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गरे ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई हस्तान्तरण गरे । साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरेका थिए ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पु¥याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।

संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गर्नुभएका शब्द र त्यसका भावनाहरूलाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उनले उल्लेख गरे ।

प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताए ।

प्रहरी संगठनमार्फत आफ्नो सम्पूर्ण उर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाइ भएका वरिष्ठ अधिकृतहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको हितका सवालमा सेवा निवृत्त वरिष्ठ अधिकृतबाट जिवनपर्यन्त अमूल्य सुझाव एवं मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे ।

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहलाई समेत बिदाइ गरियो । उनलाई श्रीमती लक्ष्मी कुँवर पराजुलीले सम्मान गरिन् ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनकराज पाण्डे रहेका छन् ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत प्रहरी वरिष्ठ अधिकृतहरुलाई शुभकामनासहित हार्दिक बिदाइ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्