
काठमाडौं । सत्ता साझेदार दलहरुमा मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीपरिषद विस्तार अन्योल बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत पाएसँगै ३-४ दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए पनि गठबनधनभित्र कुन दलले कुन मन्त्रालय पाउने टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार अन्योल बनेको हो ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको भोलिपल्टैबाट त्यसको निम्ति परामर्श सुरु भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरूले जनाएका छन्। नेपाली कांग्रेसका नेताहरूसँग बिहीवार छलफल गरेका प्रधानमन्त्री प्रचण्डले बिस्तारबारे सत्तापक्षीय गठबन्धनमा रहेका अन्य दलका नेताहरूसँगको परामर्शलाई शुक्रवार पनि तीव्रता दिएका थिए ।
त्यसअघि उनले गत साता कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेतासँग संयुक्त छलफल पनि गरेका थिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सबै दलका नेताहरूसँग छुट्टाछुट्टै कुरा गरेर फेरि संयुक्त छलफल गर्ने प्रधानमन्त्रीको योजना छ ।
गठबन्धनभित्रको ठुलो दल नेपाली कांग्रेसभित्र पनि प्रधानमन्त्रीसँग छलफल भएपनि कुन मन्त्रालयमा दावी गर्ने भन्ने दलभित्र कुरा मिलिनसकेको कांग्रेस नेता रमेश लेखकले बताएका थिए । मन्त्रिपरिषद्ले पूर्णता पाउन अझैँ एक हप्ता लाग्न सक्ने उनले बताएका छन् ।
प्रधानमन्त्रीले सक्दो चाँडै बिस्तार गर्न द्विपक्षीय र सामूहिक छलफल गरिरहेको जनाउँदै उनले सबैसँग एकसरो कुरा गरेपछि प्रधानमन्त्रीले संयुक्त बैठकमा बिस्तारको खाका पेस गर्ने बताए ।
कतिपय साना दलहरूले धेरै मन्त्रालयमा र कतिपय ठूला दलहरूले महत्त्वपूर्ण मन्त्रालयमा दाबी गरेकाले कुरा मिल्न नसकेको बुझिन्छ । गठबन्धनमा तेस्रो ठूलो हैसियतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सहभागितालाई लिएर चासोको रुपमा हेरिएको छ । उक्त दलका कतिपय नेताले पूर्व सहमति अनुसार उपप्रधान र गृह मन्त्रालय पाएमा सरकारमा जाने बताइरहेका छन् ।
तर रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले भने सरकारमा सहभागी हुनेबारे सबै अधिकार सभापतिलाई दिएकाले सभापति रवि लामिछानेले गठबन्धनभित्र छलफल गरिरहेको बताए ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्दा पनि सरकारलाई आवश्यक पर्ने बहुमत पुग्छ। त्यसैले प्रधानमन्त्री र मुख्य दलहरूले अन्य साना दलहरूलाई कम महत्त्व दिइरहेको चर्चा भइरहेको छ।
प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा अहिले उनको आफ्नो दल बाहेक जनता पार्टी मात्रै सहभागी छ। मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदा प्रचण्डले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सोमबारसम्म कुनै टुङ्गो लाग्छ भन्नेमा नेताहरु आशावादी छन् ।











