Logo
Logo

वायुसेवा निगम सुधार्न विशेष महत्व दिएको छु : पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन् ।

निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न लायक ध्वजावाहक बनाउन विभिन्न प्रयत्न भइरहेको उनले उल्लेख गरे ।

पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउन विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग आज अन्तक्र्रियाका क्रममा पर्यटनमन्त्री किरातीले निगमका साथै मुलुकको समग्र हवाई क्षेत्रको सुधार गरी सुरक्षित र भरोसायोग्य बनाउन नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘वायुसेवा निगम इतिहासकै चरम सङ्कटमा छ, अर्को भाषामा भन्नुपर्दा कृत्रिम श्वास लिइरहेको छ । राष्ट्रिय ध्वजावाहकको यो हालतलाई सुधार गरेर लैजानुर्छ ।’

पर्यटनमन्त्री किरातीले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्न नसकिएको बताए । संस्कृति र सम्पदाको क्षेत्रमा पनि सन्तोषजनक काम हुन नसकेको उनको भनाइ छ ।

आफू मन्त्री भएर आएको दुई महिनाको अवधिमा मन्त्रालय र मातहत निकायमा धेरै समस्या पहिचान गरेको र समस्यालाई सम्भावनामा परिणत गर्न आवश्यक रणनीतिसमेत बनाएको उनले उल्लेख गरे । उनले मन्त्रालय मातहतका निकायको कामकारबाही चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम ल्याउने बताए ।

पर्यटनमन्त्री किरातीले पर्यटन मन्त्रालयअन्तर्गतका निकायको कामलाई परिणाममुखी बनाउन के–कसरी काम गर्न सकिन्छ भनेर सञ्चारकर्मीसँग आवश्यक राय–सुझाव पनि लिएका थिए । उनले लामो समय पर्यटन र नागरिक उड्डयनमा कमल चलाउने पत्रकारको सुझावलाई समेत आधार मानेर मन्त्रालयको कामलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्