
काठमाडौं । आज गठबन्धन दलहरुको बैठक आज बस्दैछ । मन्त्रालय भागबन्डा मिलाउन आज दिउँसो गठबन्धनको बैठक बस्न लागेको हो । यद्यपी आज दिउँसो बैठक बस्ने भनिएपनि समय तय भइसकेको छैन ।
आज बस्ने बैठकबाट मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने प्रधानमन्त्रीको तयारी र गृह तथा अर्थ लगायतका महत्वपूर्ण मन्त्रालयमा सहमति नजुट्दा मन्त्रिपरिषद बिस्तार हुन ढिलाई भइरहेको छ ।
शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आज र भोलि गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले यसबीचमा गठबन्धनका केही घटकसँग मन्त्रिपरिषद विस्तारबारे छलफल गरे पनि सहमति जुटिसकेको छैन ।
प्रधानमन्त्रीले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्ताव गर्ने तयारी गरेका छन् । माओवादीले गृह मन्त्रालय आफैँसँग राख्न चाहेको छ । स्रोतका अनुसार कांग्रेसले अर्थ मन्त्रालय लिने भएपछि माओवादीले गृहमन्त्रालय लिने सहमति भएको हो ।











