
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन् ।
एमालेले थालेको मिसन ग्रासरुट अभियानका क्रममा आइतबार बिहान सुर्खेत पुगेका पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको बताएका हुन् ।
उनले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप लगाए ।
अहिले प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न चर्को समस्या परिरहेको टिप्पणी गर्दै उनले भने– ‘यो सरकारको ध्यान जनताको समस्यातिर छैन ।’ विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताए ।
उनले भने, ‘दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको छ । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएको धेरै दिन भयो । तर मन्त्रिमण्डल विस्तार गर्न सरकारले सकिरहेको छैन ।’











