
काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति गरेको हो ।
यद्यपी आज वा भोलि नै कार्यसम्पादन समितिको बैठक बसेर सोबारे औपचारिक निर्णय गरिने कांग्रेसका एक नेताले बताए ।
कांग्रेसले सरकारमा सहभागी हुन ८ मन्त्रालय दाबी गरेको छ ।
उसले एमाले माओवादी गठबन्धन हुँदा एमालेले सम्हालेका उपप्रधानसहित सबै मन्त्रालयमा दाबी गरेको हो । सभापति देउवाले अर्थ मन्त्रालयको नेतृत्व भने डा. प्रकाशशरण महतलाई दिन खोजेका छन् । तर, अर्थ मन्त्रालयमा खड्काले पनि दाबी गरिरहेका थिए ।
सभापति देउवाले अर्थमा महतलाई पठाउने वचन दिइसकेको स्रोत बताउँछ । तसर्थ, खड्का उपप्रधान एवम् रक्षामन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।
यसअघि खड्काले आफू सरकारमा सहभागी नहुने अडान लिएका थिए । तर, सभापति देउवाले नै जोड गरेपछि उनी सरकारमा जान तयार भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म सरकारलाई पूर्णता दिइसक्ने तयारी गरेका छन् ।











