
काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमालेका नेता लीला गिरी नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिएसँगै कांग्रेसको नेतृत्वमा सरकार बन्ने पक्का भएको हो ।
त्यहाँ कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्ने भएका छन् । चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदले हस्ताक्षर समेत गरिसकेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत चाहिन्छ ।
चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षर तयार रहेको र आजै सरकारको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालय जाने तयारी भइरहेको कांग्रेस प्रदेश सभापति अमर पुनले बताए ।
पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए ।
तर, राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा फेरिएको सत्ता समीकरणअनुसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री गिरी अल्पमतमा परेका हुन् ।
कांग्रेसका २७, माओवादी केन्द्रका १०, जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य छन् ।











