
काठमाडौं । सिटी होटलले आईपीओ बिक्री खुला गर्ने भएको छ । होटलले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि दुइचरणमा आईपीओ खुला गर्न लागेको हो ।
पहिलो चरणमा सर्वसाधारण र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई यही चैत २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।
सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।
जसअनुसार प्रति सेयर १०० अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गर्न लागेको छ ।
कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा सर्वसाधारण लगानीकर्ताले वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा वैशाख ५ गतेसम्म आवेदन दिन सकिनेछ । दुवै लगानीकर्ताहरुले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।











