
विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजेहाङ लिम्बु)को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने निर्णय गरेकाे छ ।
प्रदेशको आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने निर्णय गरेको हाे ।
प्रदेश सरकारले प्रदेश १ को नाम कोशी राखेपछि विरोध प्रदर्शनका क्रममा चैत ५ गते विराटनगरमा प्रहरीले प्रहार गरेकाे लठ्ठीबाट घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो । प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।
मन्त्रिपरिषद बैठकले घटनाको छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ । संघिय सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा सङ्घ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला सङ्घसंस्थाले विरोध गरिहेका छन् ।











