
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ९ जना विद्यार्थीलाई एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
प्रदेशमा स्थायी बसोबास भएका दलित, आदिवासी, जनजाति, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्र र जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिइने भएको हो ।
मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने ९ जनालाई छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रतिविद्यार्थी प्रतिवर्ष १० लाख रूपैयाँका दरले ५ वर्षसम्म निरन्तर उक्त रकम प्रदान गरिने छ ।
त्यसका लागि चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा पास भएको हुनुपर्नेछ । सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै २६ चैतसम्म आवेदन दिन भनेको छ ।











