Logo
Logo

सरकारी वेबसाइटका पुराना सामग्री हटाउन निर्देशन


693
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरूमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीका अनुसार कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डाटाहरू नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकाले ती लिंक, फाइललगायतका सामग्रीहरू हटाउन निर्देशन दिइएको हो ।

नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डाटाबेसलगायतका सामग्रीहरू स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनुपरेको उनको भनाई छ ।

हाल नेपाल सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरूसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेका छन् । यसरी निर्माण भएका वेबपेजहरू समयमा नै प्राविधिक रूपमा अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने तथा कतिपय प्राविधिक तथा सुरक्षासम्बन्धी मापदण्डहरूको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्प्लेट प्रयोगका लागिसमेत तयारी गरिरहेको उनको भनाई छ ।

‘सबै निकायले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने किसिमले स्ट्यान्डर्ड वेब टेम्प्लेटको निर्माणको काम अघि बढेको छ । यो टेम्प्लेट निर्माण सम्पन्न भएपछि सबै निकायलाई यही टेम्प्लेटमा आधारित भएर वेबपेज निर्माणका लागि निर्देशन दिइनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्