Logo
Logo

मिटरब्याज पीडित रातभर सडकमै बस्न बाध्य


378
Shares

काठमाडौं । बर्दिवासबाट १२ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडित रातभर सडकमा बस्न बाध्य भएका छन् ।

सोमबार खुलामञ्च प्रवेश गर्न लागेका पीडितलाई महानगर प्रहरीले प्रवेश नदिएपछि उनीहरु खुलामञ्चको गेटबाहिर सडकमा नै बस्न बाध्य भएका हुन् ।

उनीहरु रातभर खुलामञ्चको पश्चिमी गेटबाहिरै बस्न बाध्य भएको अभियन्ता कुमार बर्तौलाले जानकारी दिए । मिटरब्याज पीडितहरु खुलामञ्च या माइतीघरमा बस्ने योजना बनाएर आएका थिए । तर, महानगरले उनीहरुलाई दुबै ठाउँमा बस्न नदिएको हो ।

महानगर प्रहरीले ओढ्ने र ओछ्याउने समेत खोसेर लगेको संघर्ष समितिलाई सहयोग गर्दै आएका संघर्ष दाहालले बताए । उनका अनुसार सहयोगीले ल्याइदिएका खानेकुरा समेत प्रहरीले खोसेको छ । उनिहरुले खाना र छानाविना रात बिताएका छन् ।

मिटर ब्याज पीडितहरु खुलामञ्चमा बस्ने तयारी गरेको थाहा पाएपछि काठमाडौं महानगरपालिकाले सोमबार दिउँसो नै खुलामञ्चको गेटमा ताला लगाएको थियो ।

११ दिनसम्म हिँडेर आइतबार काठमाडौं आइपुगेका पीडितले बिहान मातातीर्थमा खाना खाएर खुलामञ्च आएका थिए । खुलामञ्चमा महानगर प्रहरीले प्रवेश गर्न रोक लगाएपछि तनावको अवस्था सिर्जना भएको थियो ।

उता काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फेसबुमा स्टाटस लेख्दै पीडितलाई पशुपति धर्मशालामा बस्ने प्रबन्ध मिलाए पनि नमानेको दाबी गरेका छन् ।

अभियानमा आफ्नो ऐक्यबद्धता भएको र यस्तो अवस्थामा कसैले पनि काठमाडौँ आउन नपरोस् भन्ने उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यद्यपि खुलामञ्चमा बस्न नदिएको विषयमा उनले केहि बताएका छैनन् । खुलामञ्च जनताको आवाज उठाउने ठाउँ भएकाले पनि यो ठाउँ खुला रहनुपर्ने पीडितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्