Logo
Logo

मसुरपाटामा केपी-राधिकाको प्रेमिल पोज


5k
Shares

काठमाडौं । उहिले जस्तो फोटोका लागि साँघुरो परिधि छैन । रिल सकिएला भनेर चिन्ता लिनुपर्दैन । हातहातमा स्मार्टफोन पुगेसँगै चाहेकै बेला फोटो तयार हुन्छ ।

सामान्य नागरिकले चाहेकै बेला फोटो खिच्न सक्छन् । सेलिब्रेटिका लागि त झन चिन्ताको कुरै भएन । उनीहरूको फोटो खिच्ने कति हो कति । तर, यसरी खिचिने फोटो औपचारिक प्रकृतिकै हुन्छन् ।

आजकाल फोटो खिच्नका लागि खास पोज पनि देखिन्न । दुई औँला देखाएर ‘भिक्ट्रि साइन’मा फोटो खिच्ने चलन पुरानै हो । त्यो भन्दा अरु पोजहरू लोप नै भैसके ।

पहिले पहिलो स्टुडियोमा नाक, कान, हात र खुट्टा सबै देखिने गरी फोटो खिच्ने चलन थियो । लगाएका गहनाहरू त झन लुकाउने कुरा भएन ।

उहिले फोटो खिच्ने समिति ठाउँ थियो । अर्थात, स्टुडियोमा तयार पारिएका फ्रेमहरू मात्रै विकल्प थिए । तर, प्रविधिले थोरै सहज बनाएसँगै डाँडाकाँडामा पनि फोटो खिच्न थालियो । सँगै, सुन्दर प्राकृतिक वा मानव निर्मित संरचनाहरू पनि फोटोमा देखिन्थ्यो ।

त्यो समयमा फोटो खिच्दा केही अघोषित तर अनिवार्य जस्तै नियमहरू थिए । फोटो खिच्नेहरू अनुशासित भएर बस्थे । तर, आजकाल ति पोजहरू हराइसकेका छन् ।

आजकाल मानव निर्मित संरचनाहरूमा मानिसको आकर्षण छ । मानिस त्यस्तै संरचनाहरूमा फोटो खिच्न रुचाउँछन् । र, मोबाइलका ग्यालरी वा सोसल मिडियाहरूमा ति फोटो सजिन्छन् ।

प्रविधिको विकाससँगै मानिसले अथाह फोटो खिचिरहेका छन् । फोटो खिच्न सबैलाई मनपर्छ । त्यसरी फोटो खिच्न औधी रुचाउनेहरूमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पर्छन् । कसैले फोटो खिच्न आग्रह गरे मुसुक्कै हाँसेर तयार भैहाल्छन् ।

निर्वाचनताका ओलीले आम नागरिकलाई आफूसँग खिचेको फोटो सार्वजनिक रुपमा मागेका थिए । सर्वसाधारणबाट पाएजति फोटो आफ्नो सोसल मिडियामा अपलोड पनि गरेका थिए ।

यतिखेर ओली पार्टीले संचालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा देशको पश्चिमी भू–भागतिर छन् । यसै क्रममा उनी चैत १२ गते अर्घाखाँची पुगेका थिए । ओलीसँगै थिए, जीवन सँगिनी राधिका शाक्य ।

ओलीले श्रीमती राधिकासँगै अर्घाखाँचीको मसुरपाटाको एउटा डाँडाबाट नोस्टाल्जिक पोजमा फोटो खिचाए । सोसल मिडियामा ओली–राधिकाको उक्त फोटो भाइरल नै भयो । 

ओली–राधिकाको उक्त फोटो भाइरल हुनुको कारण हो– पूरानो पाराको पोज र एक्सप्रेसन ।

मसुरपाटाको एउटा डाँडालाई आजकल ‘सेल्फि डाँडा’ भनिँदो रहेछ । जहाँ सानो थुम्को छ । सोही थुम्कोमा ओली र राधिका प्रेमिल भावमा देखिन्छन् । 

दुई लेयरको मनोरम पहाडी संरचनालाई पृष्टभूमिमा राखेर थुम्कामा बसेका राधिका दुबै हात अगाडि राखेर मुसुक्कै हाँसिरहेका छन् । सँगै बसेका ओली झिल्के पारामा मुसुक्क हाँस्दै देब्रे हातको औँलाले कुनै दृश्य देखाइरहेका छन् ।

ओली–राधिकाले यौवनकाल राजनीतिमै बिताएका छन् । लामो समयको जेलजीवन बिताएका ओलीसँग जीवन संगीनीसँग यस्तो प्रेमिल भावको यात्रा र पलहरू सायदै होलान् । त्यसैले पनि यो फोटो खिच्दाको पल ओली–राधिका निक्कै रोमान्चक देखिन्छन् ।
 

प्रतिक्रिया दिनुहोस्