मोरङ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले मिक्लाजुङ गाउँपालिकाको कार्यालय र सबै (नौ वटा) वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

संघर्ष समितिले आज (बुधबार) गाउँपालिका र सबै वाडा कार्यालयमा तालाबन्दी गरेको हो । उनीहरूले कार्यालयमा तालाबन्दी गरेर आजदेखि शुक्रबार (चैत्र १५ देखि १७ गते)सम्म बन्द लेखिएको ब्यानर राखेका छन् ।
प्रदेश १ को पुनः नामांकन गर्न माग गर्नेक्रममा प्रहरी धरपकडबाट पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सोही कार्यक्रमअन्तर्गत आज संघर्ष समितिले गाउँपालिका र सबै वाडा कार्यालयमा तालाबन्दी गरेको हो ।
उनीहरूले प्रदेशको नाम ‘कोशी’ खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन नरोक्ने जनाउँदै आएका छन् ।

प्रदेशको नामकरणको विवादको कारण कोशी प्रदेशको राजधानी विराटनगरसहित प्रदेशभरि आन्दोलन र मुठभेडका घटना बढ्दै गएको छ । हिजो (मंगलबार) मात्रै पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा कम्तिमा २३ जना घाइते भएका थिए ।
युएनडिपीको आयोजनामा मोरङको विराटनचोकमा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन’ बारे प्रदेशका सबै सांसदहरूसँगको कार्यशाला मंगलबार राखिएको थियो ।

आन्दोलनकारीले कार्यक्रमस्थल होटेल नेपालीरिका घेर्ने सूचना आएपछि विराटनगरको होटल विगमा कार्यक्रम सारियो । त्यो थाहा पाएपछि आन्दोलनकारी विराटनगर केन्द्रित भएर प्रदर्शन गरेका थिए ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेसँगै पहिचानसहितको नामकरणको माग गर्दै संघर्ष समितिले प्रदर्शन गरिरहेको छ ।











