Logo
Logo

प्रहरीसँगको मिलेमतोमा सीमा क्षेत्रमा कुखुरा तस्करी


4.2k
Shares

भैरहवा । लुम्बिनी प्रदेश अन्तरगत तराईका जिल्लाहरूमा कुखुरा तस्करी बढेको छ । सुरक्षा निकायको मिलेमतोमा तस्करी मौलाउँदा त्यसको प्रत्यक्ष मारमा नेपाली कुखुरापालक किसान परेका छन् ।

भारतसँग खुला सीमाको फाइदा उठाउँदै रातदिन तस्करहरूले अवैध बाटोबाट कुखुरा नेपाल भित्र्याइरहेका छन् । यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साथ दिएको कुखुलापालक किसानकाे आरोप छ।

पटक–पटक अवैध बाटोबाट भित्रिएका भारतीय कुखुरा रोक्न ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाँकेका किसानले अघिल्लो हप्ता सडकमै उत्रिएर आन्दोलन गरेका थिए । जिल्ला प्रशासन कार्यालयले नाकामा कडाई गर्ने जनाएपछि किसानले आन्दोलन स्थगित गरेका छन् ।

बाँकेमा मात्रै होइन्, अहिले लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही, बर्दिया लगायतका जिल्लामा पनि ब्यापक मात्रामा कुखुरा र तयारी मासु तस्करी भइरहेको छ ।

विगतमा जिउँदो कुखुरा र भारतमै काटेर ल्याएको कुखुराको मासु तस्करी हुने गर्थ्याे । बीचमा केही समय कुखुरा र मासु तस्करी रोकिएको थियो । अहिले फेरि तस्करी मौलाएको किसानहरू बताउँछन् ।

लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया कुखुरामा आत्मनिर्भर छन् । तर, भारतबाट तस्करी हुँदा नेपाली किसानले सस्तोमा बेच्न बाध्य भएका छन् ।

भारतीय बजारबाट ल्याएर जिउँदो कुखुरा प्रतिकिलो १८० देखि २ सय रुपैयाँमै तस्करले नेपाली बजारमा उपलब्ध गराउँछन् । नेपाली जिउँदो कुखुरा प्रतिकिलो २८० देखि ३ सय रुपैयाँ पर्छ । किलोमै एक सय रुपैयाँको अन्तर हुँदा तस्करी मौलाएको छ ।

अर्कोतर्फ, सीमावर्ती बजारमा भारतमै काटेर तयार पारिएको मासु पनि भित्रिरहेको छ । रुपन्देहीको मेउडिहवा, मर्चवार, भगवानपुर, पक्लिहवा, दुर्गौलिया, कालीदह, बगाहा लगायतका स्थानबाट अहिले ब्यापक कुखुरा र मासु तस्करी भइरहेको किसानहरू दुखेसो गर्छन् ।

‘हामीले कुखुरा पाल्छौं, बिक्री गर्ने बेला तस्करी मौलाउँछ, जसले गर्दा मुनाफा नै हुँदैन’, रोहिणीका एक किसानले भने, ‘भारतीय अवैध कुखुरासँग प्रतिस्पर्धा गर्न नसक्दा हामी पलायन हुने अवस्था आयो ।’

भारतबाट भित्रिएको तयारी मासु भैरहवा, बुटवल र लुम्बिनी क्षेत्रका सानाठूला होटलहरूमा पुग्ने गरेको छ । तस्करी गराएवापत सुरक्षाकर्मीले मोटो रकम बुझ्ने गरेको स्रोतले बताएको छ । नेपाल प्रहरीले अहिले रुपन्देहीमा घुमुवा परिचालन गरेर असुली गरिरहेको छ ।

प्रहरीका एसपी भरतबहादुर विक भर्खरै मात्रै रुपन्देही आएका हुन् । जिल्लाको वास्तविक अवस्था बुझिरहेका एसपी विकलाई गुमराहमा राखेर सीमा चौकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका अधिकारीले लाभ लिइरहेका छन् । विकलाई तस्करको जालोबारे थाहा छैन । तर, लामो समय रुपन्देहीमा जरो गाडेर बसेका प्रहरी कर्मचारीले अहिले धमाधम तस्करी गराइरहेका छन् ।

सशस्त्रका एसपी दीपक थापा पनि रुपन्देही आएको धेरै भएको छैन । उनले घुमुवा प्रहरी नै राखेका छैनन् । तर, सीमामा खटिने सुरक्षाकर्मीले बेलाबेला तस्करीबाट नेपाल ल्याउन लागिएका कुखुरा बरामद गर्ने गरेका छन् ।

यता, बाँकेको जमुनाह साईगाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरूको गुनासो छ । यसरी भित्र्याइएका कुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पा लगायतका जिल्लामा समेत पठाउने गरिएको जानकी गाउँपालिका–१ का किसान असगर अली कुरेशीले बताए ।

बाँके कुखुरामा आत्मनिर्भर भए पनि बाहिरबाट कुखुरा आयात र तस्करी नरोकिँदा किसान मर्कामा परेको कुखुरा व्यवसायी ईश्वर सुवेदीले बताए । कुखुरा व्यवसायी संघ बाँकेका अनुसार अहिले जिल्लामा करिब पाँच सय किसान कुखुरा पालन व्यवसायमा संलग्न छन् ।

यता, पश्चिम नवलपरासीको मुख्य सीमानाका महेशपुर, भुजहवा, झुलनिपुर, विष्णुपुरा, बलिनगर, बसहिया नाकाबाट अवैध रुपमा कुखुरा र तयारी मासु भित्रिरहेको छ । यहाँ सशस्त्र र नेपाल प्रहरीले घुमुवा परिचालन गरेर तस्करी गराउँदै आएको अधिकारीहरू दाबी गर्छन । यसवापत घुमुवामार्फत् प्रहरी प्रमुखले मोटो रकम बुझ्ने गरेको स्रोतको दाबी छ ।

सीमा क्षेत्रमा खटिएका प्रहरीले तस्करी नियन्त्रण गर्नुको साटो तस्करकै संरक्षण गर्ने गरेको स्थानीयबासी बताउँछन् । कुखुरा व्यवसायी संघ नवलपरासीका अध्यक्ष सुवास चौधरीले कुखुरा तस्करी मौलाउँदा आफूहरू मर्कामा परेको बताए ।

‘कहाँबाट कसरी नेपालमा भारतीय कुखुरा भित्रिन्छ मलाई थाहा छैन । तर, भारतीय कुखुराका कारण हामी धरासायी भएका छौं’, उनले भने । भारतमा कुखुराको दाना, कुखुराको चल्ला, तयारी मासु र कुखुराको मूल्य सस्तो भएकाले तस्करी व्यापक छ ।

यता, भारतीय सीमा बलैगाउँ हुँदै बर्दियाको जमुनी नाका र वरपरबाट दैनिक अवैध कुखुरा भित्रिरहेको किसानले दुखेसो गरेका छन् । यहाँबाट प्रहरीको मिलेमतोमा तस्करी मौलाएको हो । लुम्बिनी प्रदेशकै कपिलवस्तुमा पनि कुखुरा र मासु तस्करी व्याप्त छ । तस्करहरूले प्रायःजसो जिल्लाको कृष्णनगर क्षेत्रको भगवानपुर, लक्ष्मीनगर, कुकुरभुकुवा, विद्यानगर लगायतका सीमा नाका प्रयोग गरी अवैध कुखुरा र तयारी मासु भित्र्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्