Logo
Logo

यस्तो छ आगामी वर्षको बजेट निर्माण तालिका



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका लागि कार्यतालिका तय गरेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदमा प्रस्तुत गर्नुपर्ने बजेटको लागि चैत १५ गतेदेखि जेठ १५ गतेसम्मको कार्यतालिका तय गरिएको हो ।

अर्थमन्त्रालय सचिव डा. रामप्रसाद घिमिरेका अनुसार मन्त्रालयले तयार पारेको कार्ययोजनामा चैत १५ देखि वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगले बजेटको नीति तथा कार्यक्रममाथि छलफल गरिनेछ ।

यस्तै, चैत २१ गतेदेखि राजस्व परामर्श समितिबाट प्राप्त सुझावमाथि निकायगत छलफल गरी प्रतिवेदन तयार पार्ने, चैत २६ गतेबाट मन्त्रालयगत बजेट सूचना प्रणालीमा विषयगत मन्त्रालयमार्फत बजेट प्राप्त गर्ने र चैत २६ गतेदेखि वैशाख २० गतेसम्म मन्त्रालयसँग बजेटको कार्यक्रम र खर्च शीर्षकमाथि छलफल हुने तालिका सार्वजनिक गरिएको छ ।

यसैगरी, २६ चैतदेखि वैशाख २५ सम्म सरोकारवालासँग बजेटबारे सुझाव संकलन गर्ने र वैशाख २१ गते मन्त्रालयले बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गर्नेगरी कार्यतालिका तय गरिएको छ ।

जेठ १० गते व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने, जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताब छपाइ गर्ने, जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिनेगरी कार्यतालिका तय गरिएको छ ।

वैशाख २० गते सार्वजनिक संस्थाहरुको प्रगति विवरण (पहेँलो पुस्तिका) छपाइका लागि पठाउने, २१ गतेभित्र विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्ने, वैशाख ३० गते आर्थिक सर्वेक्षण छपाइका लागि पठाउने र जेठ १ गते बजेट वक्तव्यको मस्यौदा तयार पार्ने तालिका तय गरिएको छ ।

यस्तै, जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्ने, जेठ १० गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने कार्यतालिका छ । जेठ १० गते व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने, जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताब छपाइ गर्ने, जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

यस्तै, जेठ १४ गते योजना आयोग र मन्त्रिपरिषद्मा बजेटको बिफ्रिङ हुनेछ भने सोहीदिन बजेटसम्बन्धी विद्येयक छपाइका लागि प्रेसमा पठाउने तथा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण प्रस्तुत गर्ने कार्यकालिका छ । जेठ १५ गते अर्थमन्त्रीले संघीय सदनमा बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्