
काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष एवम् पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव लड्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपाबाट आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट चुनाव लड्ने बताएका हुन् ।
‘नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आवद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु। डाक्टर प्रणय राणाको प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु। राष्ट्र सेवामा इमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबद्ता,’ उनले भनेका छन् ।
यसअघि बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन २, तनहुँ–१ र बारा–२ को रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो । उक्त सूचीमा खरेलको नाम पनि समावेश गरिएको थियो ।
बारा २ मा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएपछि रिक्त रहेको ठाउँमा उपचुनाव हुन लागेको हो। २०७८ साल मंसिर २४ गते नेपाल सुशासन पार्टी खोलेका खरेलले गत मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लडेका थिए । उनी सो निर्वाचन क्षेत्रमा ३ हजार १ सय २४ मतका साथ तेस्रो भएका थिए ।











