Logo
Logo

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा दर्ता


एजेन्सी


वासिंटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । अमेरिकामा पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक अभियोग मुद्धा दर्ता भएको यो पहिलोटक हो ।

ट्रम्पविरुद्ध कतिवटा अभियोग म्द्दा लगाइएको छ भन्नेचाहिँ स्पष्ट छैन । तर, सन् २०१६ मा राष्ट्रपतिको निर्वाचनताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन १ लाख ३० हजार अमेरिकी डलर दिएको मुख्य अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको बताइएको छ ।

ट्रम्पले ड्यानियल्सलाई दिएको रकमलाई कानुनीरूपमा स्पष्ट नखुलाई व्यापारिक प्रयोजनका लागि भनेर उल्लेख गरेको र उक्त कार्य न्युयोर्क राज्यको कानुनअनुसार गैरकानुनी रहेको पाइएपछि उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।

ट्रम्प आगामी मंगलबार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको छ । आफूविरुद्ध लगाइएको आरोप गलत र राजनीतिप्रेरित रहेको उनले प्रतिक्रिया दिएका छन् । आफू अमेरिकी नागरिकको पक्षमा लगातार उभिएकाले गलत आरोप लगाएर दुःख दिन खोजेको उनले आरोप लगाएका छन् ।

ट्रम्पविरुद्ध व्यापारिक धोकाधडीका करिब दुई दर्जन अभियोग लगाइएका छन् । तर, सो कुरा कतैबाट पनि स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन । पूर्वराष्ट्रपतिको समर्थनमा रहेका रिपब्लिकन नेताहरुले यसलाई ‘राजनीतिक घटना’का रुपमा प्रतिरक्षा गरिरहेका छन् ।

सन् २०१६ मा ट्रम्पले पूर्वपोर्नस्टार ड्यानियल्सले आफ्नो ट्रम्पसँग सम्बन्ध रहेको बताएपछि राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पले आफ्नो वकिल माइकल कोहेनमार्फत १ लाख ३० हजार डलर दिएका थिए । तर, पछि कोहेनलाई उनको कानुनी सेवाका लागि भन्दै सो रकम फिर्ता गरेका थिए । न्युयोर्क राज्यमा खर्चको विवरण गलत तवरमा उल्लेख गर्नु कानुनी अपराध मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्